Saturday, September 2, 2017

अनौठो चलन :- लास सजाउने प्रतियोगिता

अनौठो चलन :- लास सजाउने प्रतियोगिता

जपानका सिन्तो धर्मावलम्बीहरुमा लासलाई आकर्षक ढंगले सजाएर दाहसंस्कार गर्ने चलन छ । आत्मा शुद्धिका लागी लासलाई नयाँ पहिरनले सजाएर अन्तिम संस्कार गरिने यो चलन अहिले प्रतिस्पर्धात्मक समेत हुदैँ गएको छ ।


बढ्दो आर्थिक समृद्धिका कारण परिवारका कुनै सदस्यको मृत्यु भए उसलाई महँगा पोसाक लगाएदिएर बिदाइ गर्ने यो चलन बढ्दै गएपछि विभिन्न कम्पनीले लास सजाउने कार्यलाई आफ्नो मुख्य पेशा बनाउदैँ लगेका छन् । यही क्रममा हालै जापानको राजधानी टोकियोमा मुत्युपछिको संस्कार सम्बन्धी मेला नै सञ्चालन भएको थियो । उक्त मेलामा लास सजाउने प्रतियोगितासमेत सञ्चालन गरीएको थियो । उक्त प्रतियोगितामा २३ वर्षीया रिनो तेराईले पहिलो स्थान हात पारिन् । लास सजाउने ओकिरिबिटो एकेडेमी सञ्चालन गर्दै आएका किमुरा कुसीका अनुसार जापानमा लास सजाउने कार्यमा २ हजारजति मानिस सक्रिय छन् । साप्ताहिकबाट
के धोखा दिनलाई पनि कुनै मुहुर्त हुन्छ र  ?

के धोखा दिनलाई पनि कुनै मुहुर्त हुन्छ र ?

के धोखा दिनलाई पनि कुनै मुहुर्त हुन्छ ? के मानिसले कुनै दिन, बार, गते तथा तिथि हेरेर आफ्नो प्रियजनमाथि धोकाधडी गर्दछ ?

कुन दिन कति बजे मानिसले आफ्नो पार्टनरमाथि बढि धोकाधडी गर्दछ ? वास्तवमा यो मान्छेको चरित्र, मौका आदिमा भर पर्दछ । एक डेटिङ वेबसाइटले यही विषयमा अध्ययन गरेर एउटा रोचक निष्कर्ष निकालेको छ ।

बेलायतको चर्चित वेबसाइट इलिसिट इन्काउन्टर्सका अनुसार हप्ताको सोमबार र शुक्रबार मानिसहरुले आफ्नो पार्टनरलाई सबैभन्दा धेरै मात्रामा धोका दिन्छन् ।
अझ सोमबार बिहान ८ देखि ९ बजेसम्म र शुक्रबार राति ९ देखि १० बजेसम्म । डेटिङ वेबसाइटले बिवाहेत्तर सम्बन्धमा रहेका आफ्ना प्रयोगकर्ताहरुले गर्ने मेसेजको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको हो ।
कामकाजको समयतालिका तथा परिवारको मागका कारण उक्त दिनहरुको त्यस समयमा पार्टनरहरुमाथि बढि धोकाधडी हुने गरेको निष्कर्ष उक्त डेटिङ साइटले निकालेको छ ।
शनिबार र आइतबार विदा हुने र विदाको दिनहरुमा परिवारसँग समय बिताउनु पर्नाका कारण सोमबार हुने बित्तिकै मानिसहरु आफ्नो अर्को अवैध सम्बन्धवाला मानिससँग सम्पर्क राख्दछन् ।
सोमबार बिहान ८/९ बजेको समयमा धेरैजसो मानिस आफ्नो अफिसतर्फ गइरहेका हुन्छन् र सोही समयमा ढुक्क भएर आफ्नो अवैध पार्टनरलाई मेसेज गर्दछन् भेटघाटका लागि अनुरोध गर्दै ।
त्यस्तै शुक्रबार रातिको हकमा चाहीँ अब सप्ताहन्तका दुई दिन भेट गर्न नपाइने भयो भन्दै आफ्नो अवैध पार्टनरसँग भेट्ने वा कम्तिमा पनि कुराकानी गर्नका लागि उनीहरुले शुक्रबार राति ९/१० बजेको समयमा बढी भन्दा बढी मेसेज गरिरहेका हुन्छन् ।
एजेन्सी

Friday, September 1, 2017

“बुझ्नै सकिन मैले कुन्नि के राख्या छ जातमा”  ?

“बुझ्नै सकिन मैले कुन्नि के राख्या छ जातमा” ?


बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन,,
नआऊ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन,,
सधै म रमेको हुन्छु आफ्नै छायाँको साथमा
बुझ्नै सकिन मैले कुन्नि के राख्या छ जातमा
यी गीतका पंक्तिहरु सरर बुझने हो भने पनि कति मार्मिक छन् । मान्छे मान्छे भित्रको बिभेद कस्तो सहि नसक्नु र बुझि नसक्नु कति अचम्मको ? कहिले काहीँ लाग्छ यो जात कसले बनायो र कहाँबाट बन्यो ? सायद गीतकार बिनु काफ्लेलाई पनि यस्तै लागेर नै यी टुक्राटुक्रा शव्दलाई हरेक वाक्य बनायर जोडिदिनु भएछ । साच्चै मान्छे मान्छेमा बिभेद किन ? आखिर मैले पनि धेरै कुरा पढे लेखे यो बिभेदको कुनै उत्तर भेटिएन । 
गीतकार काफ्लेले जसरी शव्दहरुमा एक प्रकारको रंग भर्दै पूर्णता दिनुभएको छ त्यहाँभन्दा कर्णप्रिय आवाजमा यश कुमारले स्वर र संगितले भरिदिए छन् । अझ मैले सुने अनुसार त उक्त गीतलाई नयाँ संसार एल्वमको निकृष्ट गीत ठानेर नेपालको मिडियामा समेत त्यस्लाई बज्न दिइएन कारण जातीय दंगा फैलाउने अनुमान लगाउँदै त्यसलाई रोक लगाइएको थियो रे त्यति बेला २०५८ साल तिर । यथार्थ चरित्रण गरिएको छ कि यो गितमा हाम्रो समाजमा जे भैरहेको छ त्यसलाई टपक्क टिपेर समाजमा राखे जस्तै छ । 
के अन्तर जातीय माया प्रेम वस्नु ठुलो भूल हो ? र कसरी कस्ले दिन्छ मलाई यसको जवाफ यो के अपराध हो ? अन्तरजातीय प्रेम मात्रै नभई बिबाह गर्नु ? यहि कुरालाई हाम्रो समाजले कहिलेसम्म यसलाई महाअपराध ठान्ने ? किन ? किन ? किन ? २१ औ शताब्दीमा यहाँ धेरै राजनीतिक परिवर्तन आएका छन् । त्यस्तै आर्थिक सामाजिक, सास्कृतिक, आज भेषभुषा धर्म लिङ्ग, रहनसहन, खानपिनदेखि लिएर धेरै कुरामा परिवर्तन आउँदा पनि अझै हाम्रा समाजमा कुसस्कार कुप्रथा, कुरीतिले किन जरा झन झन गाड्दै गइरहेका छन् ? 
मुलुकमा अझै पनि अन्तरजातीय विवाह गर्नेहरु हुन या प्रेम गर्ने नै याहा यस्ता धेरै जोडीहरू विस्तापित भैरहेका छन् । उनीहरुले आफू र आफ्नो सु–समन्ध र प्रेम समधुर बनाउन जति प्रयास गरे पनि यसमा सफल हुन अझै कठिनाई भैरहेको छ । अहिलेका जमनामा पनि अन्तरजातीय विवाह र प्रेम समाजले पचाउन नसक्नु बिडम्बना हो । समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछुत अन्त्य गर्न ऐन(कानुन मात्रै बनाउनेभन्दा पनि कार्यान्वयन गर्न कोही सक्रिय हुँदैनन् । र होस पनि कसरी ? जो ब्यक्तिको समाजमा हालीमुहाली चल्छ उनीहरु नै यो कुरालाई समाजमा पचाउन सक्दैन् । 
लाग्छ ऐन कानुन जति बलियो बनाए पनि यसले कुनै प्रभाव पार्ला जस्तो लाग्दैन किनकी नेपालमा कानुन पालना गर्ने जनता मात्रै छन् । कानुन बनाउने र पालना गराउनेले यहाँ जे गरेपनि चल्छ जसो गरेपनि चल्छ उनीहरु कहिलै चाहँदैनन् यो कुरामा समाज रुपान्तरण गर्न । सुन्दै दुख लाग्छ जातीय भेदभाव तथा छुवाछुत होस या कुनै अन्तरजातीय विवाह होस या प्रेम जोडीले आफुमाथि अन्याय भयो भनेर प्रहरी प्रशासनमा उजुरी दिँदासमेत उजुरी दर्ता हुँदैन । प्रेम विवाह गर्नु कुनै अपराध होइन । तर हाम्रो समाजमा जातीय विभेदले गर्दा कतिपय प्रेमजोडीलाई घर परिवारले समाजमा उनीहरुलाई सफल हुन दिएका छैनन् । 
अन्तर जातीय विवाहलाई नेपालको कानुनले मान्यता दिएता पनि अझै नेपाली समाजले यसलाई स्वीकार्न सकेको छैन । यहा अन्तरजातीयं प्रेम सम्वन्ध राखेका जोडीहरु एक हुन चाहान्छ चाहे घाटीमा पासोको कुरा होस या चाहे बीसको थोपाले होस बरु उनीहरु मर्न चाहन्छन् । तर छुटिट्न चाहान्न् । तर यो समाजमा आफ्ना सन्तानहरुलाई आफ्नो सारा संसार ठान्ने अबिभावकहरुको सामु प्रश्न । सन्तानले चाहेको खुशी तपाइको खुशी हुन सक्दैन र ? आफ्नो प्रेम र आफुले चाहेको खुशीहरु न पाउँदा एउटै डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रेम जोडीहरुलाइ तपाई के भन्नु हुन्छ ? 
अभिभावकले सन्तान चाहन्छन् कि इज्जत ? जो सन्तानले चाहेको खुशी लुट्दै आफ्नो इज्जतको झुटो खोल ओडी अडिग रहन्छन र सन्तानलाई रुवाएरै भएपनि आफु हाँस्न खोज्छन । कति अचम्मको छ है ? यो समाज जातियताकै नाममा अझै पनि अरुलाई रुवाउने काम गरिरहन्छन् कती सम्म ? आखिर बाहुन, क्षेत्री, दलित, यस्ता पनि जात हुन्छन् ? जस्को मासु काट्दा पनि निस्कने रगत नै हो । मासु काट्दा सबै लाई दुख्छ भने अझ त्यस भित्र के को जातियता के छ फेरि ? यसमा पनि प्रेम गर्नेहरुलाई यो कु दृष्टिले धरैलाई समाज बिहिन जिवन मरण को बिचमा पनि पुराएको छ । मानिस मानिसमा के को भेदभाव ? बुझ्नै सकिन मैले कुन्नि के राख्या छ जातमा ? आफ्नो खुसि रोजौ आमा बा लाई बाच्न गार्हो आफ्नो खुशि त्यागौ आफैलाई बाँच्न गाह्रो । 
एक्काइसौ शताब्दीसम्म आइपुग्दा पनि अझसम्म मानिसमा चेतनाको कमि किन होला ? मानिस मानिसमा किन यस्तो भेदभाव हो र मानिसले बनाएको जातलाई लिएर ठूलो जात र सानो जात भन्ने जस्तो सानो सोचका कारण यसरी भबिष्यको सुन्दर सपना देख्ने प्रेमी प्रेमिकाको जोडीले मृत्युवरण गर्न बाध्य भएका छन । हरेक वर्ष हरेक महिना अन्तर जातीय विवाह गरेका जोडीहरु घर परिवारले नस्वीकारेको कारण आत्महत्या गरेको समाचार सुन्दै र पढ्दै आइरहँदा पनि किन यस्ता प्रेम बिबाह गरेका जोडीहरुलाई अलग बनाएर आत्महत्या गर्न बाध्य किन पारिन्छ ?
देशमा जातीय भेद भाव र छुवाछुत बिरुद्द कानुन भए पनि अहिलेसम्म त्यस्ता आत्महत्या गर्न बाध्य बनाउने व्यक्तिमाथि कारवाही हुनुपर्छ जातीयबीचको असमानता, जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, गरी समतामूलक, शान्तिपूर्ण र समृद्ध समाज निर्माण आजको आवश्यकता हो । (हाम्राकुरा बाट साभार गरीएको)
लेखक नेपाली रेडियो नेटवर्कमा कार्यरत छन् ।
पहिलो पटक नेपालमा राष्ट्रिय फुटसल प्रतियोगिता हुँदै

पहिलो पटक नेपालमा राष्ट्रिय फुटसल प्रतियोगिता हुँदै

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग भोलीदेखि हुँदैछ ।

बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गर्दै एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले प्रतियोगिताको बारेमो जानकारी दिए ।

प्रतियोगिता काठमाडौंको चपली हाइट स्थित चौर रक्रिएस्नल फुटसल सेन्टर र बैद्ध स्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा हुनेछ ।
लिगमा विभिन्न १६ वटा टिमको सहभागिता रहनेछ । दिनको आठ वटा खेलको दरले हुने प्रतियोगिताका लागि लाग्ने अनुमानित ३० लाख खर्चमा एन्फाले दश लाख ब्यहोर्नेछ भने बाँकी २० लाख टर्नपाइक इभेन्ट प्रालिले ब्यवहोर्ने बताइएको छ ।
लिग संचालनको जिम्मा टर्नपाइकले लिएको छ । प्रतियोगिताको विजेताले पाँच लाख जित्नेछ भने उपविजेताले दुई लाख पचास हजार पाउनेछ । साथै यस प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट समेत हुनेछन् । छनोट प्रतियोगिता अक्टोबर १३ देखि २२ सम्म हुनेछ ।
पुजामा आएका शाहरुख खानले जुत्ता लाउन भुलेपछि

पुजामा आएका शाहरुख खानले जुत्ता लाउन भुलेपछि

एजेन्सी । गणेशको दर्शन गर्न व्यवसायी तथा रिलायन्स ग्रुपका मालिक मुकेश अम्बानीको घर पुगेका अभिनेता शाहरुख खानको जुत्ता हराएको छ । अम्बानीले गणेश चतुर्थीको अवसरमा आइतबार घरमा पार्टी आयोजना गरेका थिए ।  सो पार्टीमा सहभागि हुन पुगेका शाहरुखले दर्शनपछि जुत्ता लगाउन बिर्सिए ।

 पार्टी समाप्त भएपछि महल बाहिर पुगेपछि आफ्नो  खुट्टामा जुत्ता नदेखेर आफै छक्क परेका थिए शाहरुख । त्यसपछि उनको जुत्ता खोज्ने काम सुरु भो जसमा अम्बानीका जेठा छोरा आकाश अंबानी पनि लागे ।  
 अम्बानिको पर्टिमा बलिउका  बच्चन, कपुर परिवारको उपस्थिति रहेको थियो । सो पार्टीमा सहभागि हुन  शाहरुख  पुगेसँगै उनले पहिलो दर्शन गरे । सो समय उनले जुत्ता खोलेका थिए ।  गणेशको दर्शनपछि शाहरुख पार्टीमा आएका मानिसहरुसँगको भेटमा  व्यस्त भएर जुत्त लगाउन बिर्सए ।
 उनि  पार्टीमा जुत्त  बिनै घुमि रहे । पार्टी समाप्त भएपछि महल पुगेर  शाहरुखले आफ्ना सहयोगीलाई जुत्ता खोज्न भने । शाहरुखको जुत्ता हराएको कुरा पार्टीमा फैलियो । जुत्ता हराएपछि हडबडाएका शाहरुखले जुत्ता खोलेको ठाँउ समेत समझन सकेनन् ।   उनको जुत्ता खोज्न अझ धेरै मानिस लागि परे । यससँगै मुकेश अम्बानीका जेठा छोरा आकाश पनि जुत्ता खोज्न लागे । लामो समय सम्मको खोजि पछि शाहरुखको जुत्त भेटियो र उनि लगाएर घर तिर लागे ।
राधी जलविधुतले ७ लाख ६४ हजार शेयर सर्वसाधारणको लागी जारी गर्ने

राधी जलविधुतले ७ लाख ६४ हजार शेयर सर्वसाधारणको लागी जारी गर्ने

राधि विद्युत् सर्वसाधरणको लागि ७ लाख ६४ कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको सेयरलाई ईक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ । यो रेटिङले कम्पनीको आधारभूत पक्ष औषत रहेको संकेत गर्दछ ।


कम्पनीले पहिलो चरणमा स्थानीय प्रभावीत बासिन्दाका लागि ४ लाख १० हजार कित्ता सेयर जारी गरिसकेको छ । कम्पनीले दोस्रो चरणमा जारी गर्ने सेयरको लागि धितोपत्र बोर्डमा अनुमती प्रक्रियामा रहेको छ । यो प्रक्रिया लगभग अन्तिम चरणमा रहेको छ ।
कम्पनीले आईपिओ जारी गरेर उठाउने पैसा यस सम्बद्ध अन्य नयाँ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको हो । कम्पनीले १० दशमलव ३ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट र ११ मेगावाटको खारे हाइड्रो इलेक्ट्रिक प्रोजेक्टमा लगानी गर्ने भएको हो ।
हाल लम्जुङ जिल्लाको राधी खोलामा संचालन रहेको आयोजनाबाट ४ दशमलव ४ मेगावाट विद्युत् उत्पादन भईरहेको छ । ७० प्रतिशत कर्जा र ३० प्रतिशत सेयर लगानीबाट संचालन भएको यो आयोजनाको निर्माण लागत ६१ करोड ३० लाख रहेको छ । (साभार अनलाइन खबरबाट)
चितवनमा स्वाइनफ्लुको विगविगी

चितवनमा स्वाइनफ्लुको विगविगी

चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु संक्रमण भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ संक्रमण भएको पाइएको हो। 
कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको जानकारी दिए। जिल्लामा फ्लु ए देखिएपछि ३८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएको थियो, केसीले भन्नुभयो, “उक्त परीक्षणले ३०९ जनामा संक्रमण पुष्टि गरेको हो ।” संक्रमण भएकामध्ये २५३ जना चितवनका बासिन्दा हुन् । 
बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासीलगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन् । स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेलगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने भरतपुर अस्पतालका डा कालिदास अधिकारी बताउँछन्। उनले फ्लु ए संक्रमण भएका बिरामीको चाप अस्पतालमा अत्यधिक भएको बताए । 
चारजनामा डेंगु 
भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित जिल्लामा डेढ महिनाको अन्तरालमा चारजनामा डेंगु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको बताए । 
कामको सिलसिलामा भारत पुगेका एक व्यक्ति ज्वरो आएर फर्किएकामा एक व्यक्तिको परीक्षणमा पनि डेंगु देखिएको हो । भारतको मुम्बईमा ज्वरो आएर फर्किएका उनको परीक्षणमा डेंगु रोग पुष्टि भएको केसीले जानकारी दिनुभयो । भदौ ११ गते नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा उनमा डेंगु पुष्टि भएको केसीको भनाइ छ । 

साउनदेखि भदौ १५ सम्म जिल्लामा ३२४ जनाको परीक्षणका क्रममा चारजनामा डेंगु पुष्टि भएको केसीले आज जानकारी दिए । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सार्ने भएकाले लामखुट्टेबाट बच्न सके र घर वरपर भाँडामा पानी जम्न नदिए रोगबाट बच्न सकिने चिकित्सकले जनाएका छन् । 
यसैबीच चितवनमा एक जनामा चिकनगुनिया रोग समेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नवलपरासी घर भई चितवनमा उपचार गराइएका एक व्यक्तिमा उक्त रोग देखिएको हो । रासस (Hamra Kura bata)
कांग्रेसमा पदको बार्गेनिङ गर्न नयाँ-नयाँ गुट

कांग्रेसमा पदको बार्गेनिङ गर्न नयाँ-नयाँ गुट

जेठ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीका रूपमा शपथ हुनै लाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यक्रममा सहभागी नहुने खबर पठाए। सभापतिले मनोमानी पारा देखाएको भन्दै उनले विरोध गरे। मन्त्रिपरिषद्मा आफ्नोतर्फबाट ४० प्रतिशत सहभागिता हुनुपर्ने उनको माग थियो। देउवाले मन्त्री चयन पछि गर्ने जानकारी गराएपछि उनी शीतलनिवास गए।

भदौ ७ मा देउवा भारत भ्रमणमा जान लाग्दा विमलेन्द्र निधिलाई कार्यवाहक सभापति दिए। त्यसप्रति असन्तुष्टि जनाउँदै पौडेल पक्षले भदौ १० गते महामन्त्री शशांक कोइरालाको निवासमा छुट्टै भेलासमेत आयोजना गर्‍यो। भदौ ११ गते तनहुँको दमौली पुगेका पौडेलले पार्टीमा हचुवा प्रवृत्तिले काम हुन थालेको आरोप लगाए।
यी दुई घटनाले कांग्रेसभित्रको गुटगट राजनीतिलाई प्रस्ट्याउँछन्। देशकै सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसका शीर्ष नेतालाई आ-आफ्नै खेमा खडा गर्न भ्याइनभ्याइ छ। उनीहरूकै भनाइलाई आधार मान्ने हो भने यो पार्टीमा सातवटा गुट सक्रिय छन्। यसको मुख्य काम पार्टीबाट छानिने मन्त्री, राज्यमन्त्रीदेखि विभिन्न पदाधिकारी भागबन्डामा बार्गेनिङ गर्ने हो। केन्द्रीय सदस्य शंकर भण्डारी भन्छन्, ‘पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी भएपछि यस्तै हुन्छ।’
कांग्रेसको पछिल्लो १३ औं महाधिवेशनमा तीनवटा गुट संस्थागत शैलीमै चुनावी मैदानमा उत्रिएका थिए। सभापतिमा शेरबहादुर देउवाको प्यानल विजयी भएपछि उनले पार्टीभित्रको गुटबन्दी समाप्त पार्ने घोषणा गरे। तर, महाधिवेशनको डेढ वर्षको अवधिमा गुट समाप्त भएन, बरु नयाँ-नयाँ गुट थपिए। महाधिवेशनमा तीनवटा गुट देखिएकोमा अहिले ६ वटाभन्दा बढी देखिन्छ। शेरबहादुर देउवा, रामचन्द्र पौडल, कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कोइराला परिवारको छुट्टाछुट्टै गुट यतिखेर सक्रिय छ।
 
१३ औं महाधिवेशनपछि नेतृत्वबाट बाहिरिएको कोइराला परिवार (शशांक, शेखर र सुजाता) एकसाथ अघि बढेपछि कांग्रेस राजनीति तरंगित भएको छ। साउन ४ गते महामन्त्री शशांकको निवासमा लन्च मिटिङ गरेर सामूहिक फोटो सामाजिक सन्जालमा राखेपछि कोइराला परिवार चर्चामा आएको हो। भदौ ९ गते पत्रकार महासंघका पदाधिकारीलाई स्वागत गर्ने क्रममा नेताहरू पुनः एकसाथ देखिएपछि यो समूह संस्थागत रूपमा अगाडि आउन खोजेको आकलन भइरहेको छ।
कांग्रेसको इतिहास लेखेका पुरुषोत्तम बस्नेत भन्छन्, ‘कांग्रेसभित्र गुट-उपगुट मौलाउनु नयाँ कुरा होइन तर पछिल्लो समय जसरी गुट फस्टाउँदै गइरहेको छ, त्यो पार्टी हितमा देखिएको छैन।’ बस्नेतका अनुसार कांग्रेसभित्र ०१७ सालदेखि नै गुट सुरु भएको हो।
गत वर्ष प्रमुख सत्तासाझेदार कांग्रेसले मंसिर १४ गते संविधान संशोधन विधेयक दर्ता गरायो। त्यसविरुद्ध कांग्रेस सांसद चन्द्र भण्डारी ५ नम्बर प्रदेशमा उत्रिए। यता, संशोधन प्रस्ताव पास गराउनुपर्ने माग गर्दै कांग्रेसका २७ सभासद्ले हस्ताक्षर गरेर नेतृत्वलाई ज्ञापनपत्र नै दिए। कांग्रेसकै तेजुलाल चौधरीले मंसिर २७ गते थारू सांसदको छुट्टै भेला गरेर कैलाली-कञ्चपुरलाई नयाँ प्रदेशमा राख्नुपर्ने निर्णय गराए। प्रदेश टुक्रायाउन गरेको संशोधन प्रस्तावको सन्दर्भमै ५ नम्बर प्रदेशभित्रकै मधेसी र पहाडी जिल्लाका सांसद फरक-फरक कित्तामा उभिए।
विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘पार्टीभित्र विभिन्न स्वार्थको चलखेल बढ्दै गएपछि यस्तै हुन्छ। कांग्रेसको मूलनीति र सिद्धान्त नै के छ भन्ने स्पष्ट हुँदैन। नेतृत्व कमजोर हुँदा पार्टीले राष्ट्रिय धार बनाउन सक्दैन।’
नेताहरूले आफूलाई केन्द्रमा राखेर अघि बढ्न थालेपछि गुटबन्दी झन् मौलाएको देखिन्छ। ‘छलफल र विमर्श हुनु अस्वाभाविक होइन’, आचार्य भन्छन्, ‘कांग्रेसले मूलरूपमा पार्टीको लाइन गुमाएका कारण भाँडभैलो देखिएको हो।’ उनका अनुसार कांग्रेसले बीपी, सुवर्णशम्शेर, गणेशमान र कृष्णप्रसाद भट्टराईपछि पार्टीलाई लाइनमा राख्ने नेतृत्व नै पाएन। यसले गर्दा राष्ट्रिय दृष्टिकोण ओझेलमा परेको छ।’
पछिल्लो महाधिवेशनबाट परम्परागत नेतृत्वका रूपमा स्थापित कोइराला परिवारलाई किनारा लगाउँदै शेरबहादुर देउवा पार्टीमा हाबी भए। महाधिवेशनमा देउवालाई सघाएका खुमबहादुर खड्कालगत्तै हिन्दु धर्मको एजेन्डासहित छुट्टै गुटको नेतृत्व गर्दै अघि बढे। देउवाकै प्रतिनिधित्व गर्ने विमलेन्द्रले संविधान संशोधन गरेर निर्वाचनमा जानुपर्ने वकालत गरिरहँदा कृष्ण सिटौलाले संशोधनभन्दा पनि निर्वाचनमा जानुपर्ने वकालत गरिरहे। पौडेल समूहको छुट्टै असन्तुष्टि छ, मधेसी सांसद आफ्नै खालको लबिङ गरिरहेका छन्।
०४६ सालको प्रजातान्त्रिक आन्दोलनलगत्तै पार्टीमा गिरिजाप्रसाद कोइराला हाबी भएपछि कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरू फरक धारमा उभिए। त्यसअघि पञ्चायतकालमा कांग्रेसमा अठ्तिसे समूह उदाएको थियो। परशुनारायण चौधरीलगायत ३८ जना नेताले छुट्टै विचारको वकालत गर्दै यो समूह बनाएका थिए।
०५१ सालमा गुटगत चलखेल झनै मौलायो। ०५३ को महाधिवेशनमा सभापतिमा गिरिजाप्रसाद कोइरालालाई सघाएका शेरबहादुर देउवा त्यसपछिको महाधिवेशनमा उनकै विरुद्ध उभिए। ०५८ मा गुट-उपगुटकै कारण कांग्रेस विभाजनसम्म पुग्यो। ०६२ को दोस्रो जनआन्दोलन सफलतासँगै एकीकृत भएको कांग्रेसमा फेरि पनि गुटगत राजनीति सेलाएन।
विश्लेषक शंकर तिवारी भन्छन्, ‘कांग्रेसभित्र ०१७ सालपछि सुरु भएको गुट-उपगुटको राजनीतिले बेलाबखत ठूलो क्षति पुर्‍याएको देखिन्छ। यद्यपि, अहिले पनि गुटगत खेल कांग्रेसभित्र गम्भीर रूपमा मौलाउँदै गएको तिवारीको विश्लेषण छ। (अन्नपूर्णपोस्ट दैनिक)